भौतिक पूर्वाधारको अभाव‚ श्रमिक चेतनाको अभाव‚ दक्ष जनशक्तिको अभाव जस्ता कारणले औद्योगीकरण फस्टाउन नसकेको यस प्रदेशमा श्रमिकहरुमाजागरुकता‚ चेतना र व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षाको बारेमा जनचेतना फैलाई असल श्रम सम्बन्ध कायम गरी लगानीमैत्री वातावरणको सिर्जना गर्दै औद्योगीकरणमा वृद्धि गर्न बढ्दो बेरोजगारी समस्या कम गर्ने सन्दर्भमा स्वदेशी तथा विदेशी श्रम बजारमा प्रतिष्पर्धा गर्न सक्ने दक्ष र सीपयुक्त जनशक्तिको उत्पादनबाट रोजगार र स्वरोजगारकाअवसरहरु सृजना गर्नुका साथै विभेदरहित‚ सुरक्षित‚ मर्यादित र स्वस्थ्य काम गर्ने वातावरण प्रदान गरी राष्ट्रिय अर्थव्यवस्थाको सुदृढीकरण र गरिबी निवारणमा योगदान पुर्याउने आवधिक योजना श्रम सम्बन्धी क्षेत्रको दूरगामी सोच राखेर स्थापित श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको मातहत रही सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाका श्रम सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि श्रम तथा रोजगार कार्यालयको २०५३ सालमा विधिवतरुपमा स्थापना भएको हो ।
नेपालको कुल क्षेत्रफल १,४७,१८१ वर्ग कि.मि. मध्ये सुदुरपश्चिम प्रदेशले १९,५३९वर्ग कि.मि. अर्थात् १३.२७% क्षेत्रफल ओगटेको छ । यसमा प्रदेशको कुल क्षेत्रफलमा हिमाली भू-भाग ७‚९३२.८३४ वर्ग कि.मि. (४०.६०%), पहाडी भू-भाग ६‚७४८.७७०६ वर्ग कि.मि. (३४.५४%) र तराई भू-भाग ४‚८५७.३९५४ वर्ग कि.मि. (२४.८६%) पर्दछ । नेपालमा पाइने सबै प्रकारका हावापानी पाइने भौगोलिक विविधता युक्त यस क्षेत्रमा २ जिल्ला (कैलाली र कञ्चनपुर) तराई क्षेत्रमा, ४ जिल्ला (डोटी, डडेल्धुरा, अछाम, बैतडी) पहाडी क्षेत्रमा र ३ जिल्ला (दार्चुला, बझाङ र बाजुरा) हिमाली क्षेत्रमा पर्दछन् ।
यस कार्यालयको कार्य क्षेत्र सिमाना पूर्वमा कर्णाली प्रदेशका सुर्खेत, दैलेख, कालीकोट र मुगु जिल्ला तथा लुम्बिनी प्रदेशको बर्दिया जिल्ला पर्दछ । पश्चिम र दक्षिणमा भारत, उत्तरमा कर्णाली प्रदेशको हुम्ला जिल्ला तथा मित्र राष्ट्र चीनको स्वशासित क्षेत्र तिब्बत रहेको छ ।
यसका साथै वैदेशिक रोजगार विभागद्वारा प्रत्यायोजित अधिकार प्रयोग गरी कार्यालयमा वैदेशिक रोजगार डेस्क स्थापना गरी मिति २०७५ /१०/०६ गते देखि वैदेशिक रोजगारमा जाने कामदारहरुलाई पुन: श्रम स्वीकृति दिने कामको सुरुवात भएको हो ।